एक थरी भाषा वंशावलीमा दक्षिणकाली बारे यस्तो विवरण पाइन्छ “प्रताप मल्ल राजाका पर्यायमा श्री दक्षिणकालि प्रसन्न भै मलाई मुर्तिमान प्रकाश गर भनी स्वप्नविषे प्रसन्न हुंदा राजाले याद नगरि रहंदा फेरी कन्या कुमारीमा प्राप्त भै मेरा स्वयम्भू मूर्ति अप्रकाशित छ । मलाई मूर्ति बनाई स्थापना गर महामारी भय निवारण होला आयु वृद्धि होला साम्राज्य प्रख्यात होला भनी आज्ञा हुंदा राजाले अब त नबनाई भएन भनी मूर्ति बनाउन लाग्यो ।“
“जब सक्याथ्यो यहांपछि फेरी त्यो मुर्ति मेरो अप्रकाशित ध्यान हो दरबार भित्र स्थापना गर भनी स्वप्न प्रसन्न हुंदा दोस्रो मूर्ति बनायो ।“
“श्री नृसिंह भट्ट लम्बकर्ण गुरु पाई यिनका द्वाराले श्री दक्षिणकाली श्री सुन्दरकाली अष्टमातृकाकन दक्षिण भाग पूर्णवती गंगा वामभागे उद्धारबप्री गंगा संगम श्री स्वयम्भू दक्षिणकालीका स्थान निकटमा श्मशानवासी प्रकाशस्वरुप महाकाली सुन्दरकाली सहस्तबलि नरबलि महापूजा कोट्याहति यज्ञ गरीकन प्रतिष्ठा कर्म विधानपूर्वक पुर्याई बैशाष शुक्ल ३ का दिन स्थापना गरी विराजमान गरायो । श्री सुन्दरकालीकन र आफना राजकुलमा मोहनचोक बनाई विशत्तिषडाम्नाय दशाम्नाय षोडशाम्नाय मूर्तिमा प्रतिमा चौसट्ठी जोगिनी आवरण देवता संयुक्त्त गरी सुन्दरकालीकन स्थापना गयो ।“
“यिनै फर्पिङका ईश्वरी प्रसन्न हुंदा धन, द्रव्य, कुवेर संतुष्ट भै ऐश्वर्य पाउंदा भयो । श्री गुरु नृसिंह भट्ट राजा प्रताप मल्ल मन्त्री भीम मल्ल यी तिन जनाका सम्मतले ईश्रीकन स्थापना गर्दा ईश्वरीका प्रसादले भोट राज्य ल्हासा कुति अम्बल गरी धेरै दौलत प्राप्त हुंदा मोहनचोकमा पांच कोटी द्रव्य भण्डार थाप्यो ।“
भाषावंशावलीको यो सन्दर्भबारे कान्तिपुरका राजा प्रताप मल्ल को समयमा दक्षिणकालीको मूर्ति थापिएको भन्ने अनुश्रुतिबारे हामीलाई ज्ञान हुन आउंछ । तर उक्त सन्दर्भमै एक ठाउंमा ‘श्री स्वयम्भू दक्षिणकालीका स्थान’ भन्ने उल्लेख परेकोले त्यहां पहिलेदेखि नै दक्षिणकाली आफै उत्पन्न भएको पवित्र स्थलको रुपमा केहि प्रसिद्ध भैसकेको मान्नुपर्ने हुन आउंछ ।
अर्को थरी वंशावलीमा पनि प्रताप मल्लको दक्षिणकालीसँगको सम्बन्धबारे माथि उद्धृत जस्तै विवरण दिएको पाइन्छ तर त्यसमा ‘शुरुमा ओं श्री दक्षिणकाली फर्पिङ ललितपुर यस पीठ नेपालका मुख्य भै विराजमान भैरहनु भएका कहि मूर्ति प्रकाश छैन ९थिएन० पीठ मात्र भएको थियो।।।।’ भनेर प्रताप मल्ल अघि त्यहाँ दक्षिणकालीको पीठ रहेकै कुरा बुझ्न सकिन्छ ।
अर्को थरी भाषा वंशावलीमा दक्षिणकालीको स्थापना प्रताप मल्लले गुहेश्वरी पीठ पत्ता लगाउने घटनासँग सम्बद्ध गरेर प्रस्तुत गर्दै यस्तो विवरण दिइएको पाइन्छ (
श्री गुहेश्वरी महामायाकन प्रकाश गरायो । यीनृसिंह ठाकुर देवी भक्त हुनाले सबै राजा प्रजाकन रक्षा गरौंला भनिरहंदा बखतमा देवीको आज्ञा भयो । हे नृसिंह १ नेपाल दक्षिण दिशा दक्षिण मसान भयाका १ मेरो पीठ छ त्यहाँ बांडाहरुले खल्बल्याई महा भयंकर भै अगम भै रहयो । त्यहाँ तिमी जाई नृसिंह भैरव जगाई चार वर्णकन रक्षा गर भन्ने देवीका आज्ञाअनुसार गरी अभ्यन्तर मन्त्रले नवदुर्गा फुलचोकका दक्षिण कालीगण सबै आवाहन गरी नृसिंह भैरव जगाई साधन जगाई स्थापना गरिदियो । त्यहाँ उप्रान्त बांडाहरुका पूजा विधान गर्न सकेन र हमगु ९ह्वांगु० बज्रयोगिनी ९खड्गयोगिनी० मा जाई आफ्ना स्वकर्म चलायो ।
यस दिन देखि दक्षिणकाली प्रकाश भयाका हुन् ।‘‘नेपाल सम्वत् ७७४ सालमा श्री गुहेश्वरी सित बिदा मागी नृसिंह ठाकुर काशी गई प्राणायाम गरी शुन्य समाधिमा गया ।“
वंशावलीको यो सन्दर्भमा पहिलेदेखि रहिआएको पीठको रुपमा यो रहेको, बुद्धमार्गीहरुको सम्बन्ध हुन गएको र नृसिंह ठाकुरले प्रताप मल्लको पालामा बुद्धमार्गीहरुलाई हटाएर पूजापरम्परा चलाएको भन्ने बुझ्न सकिन्छ ।
प्रसिद्ध तन्त्रविशेषज्ञ धनशमशेर ज। ब। रा। ले भने दक्षिणकालीको स्थापना सम्बन्धी आर्कै विवरण दिनुभएको पाइन्छ । उहाँको भनाइअनुसार माथिको पीठ ज्यादा नै जाज्वल्यमान जाग्रत भएको मानिसलाई सम्हाल्न ज्यादै मुश्किल परेकोले राजा प्रताप मल्लले आफ्ना गुरु लम्बकर्ण भट्टसित सल्लाह गर्दा तल्तिर एउटा मूर्ति थापेर तेज खिच्ने सल्लाह दिंदा राजाले दक्षिणकालीको गुहृा मूर्ति बनाई गुरुलाई देखाउँदा गुरुले त्यो मूर्ति त माथिकै जस्तो भएकोले झन् तेज बढेर जाज्वल्यमान हुने भएकोले आर्कै आम्नायको मूर्ति स्थापना गर्ने सल्लाह दिए र बनिसकेको मूर्ति राजदरबारमा थाप्न लगियो । पीठमा थाप्नका लागि भने आर्कै आम्नायसँग सम्बद्ध ‘उपाम्नाय नायिका’ ‘शुष्कमांसातिभीषणा’ षड्भुजा चामुण्डाको शववाहन मूर्ति बनाई तीन आँखाको सट्टा दुई आँखामात्रै राखेर थापना गरी सो मूर्तिमा माथिको कोरा पाषाण पीठबाट जीवरुप सत्ता निकालेर सारी माथिको जीवसत्तारहित पाषाणलाई अधोमुख पारेर खाल्डामा पूरी एउटा ठूलो ढुङ्गाले ढाकी माईको विहार गर्ने ठाउँ बनाई त्यो ठाउँमा कोही पनि जान नहुने प्रथा चलाइयो । दक्षिणकाली भनिने हालको मूर्ति ध्यानअनुसार चामुण्डाको भए पनि दक्षिणकालीको जीवसत्ता सारेर प्राणप्रतिष्ठा भएको हुनाले देवीको सो पीठ दक्षिणाम्नायात्मक भएको र दक्षिणाम्नायकै मतले त्यहाँ दक्षिणकालीको पूजाआजा हुन्छ ।
दक्षिणकालीबारे आर्को आख्यान पनि उपलब्ध हुन्छ । सो अनुसार उहिले शिखरनारायणको मन्दिर रहेको डाँडाको माथि थुम्कामा दक्षिणकाली र उनका गणकहरुको बासस्थान थियो । आधारातमा देवी आफ्ना गणसहित भएर वरिपरि घुम्दथिन् र आफ्ना सामुन्ने आइपुग्ने मानिस खाइदिन्थिन् । देवीले यस्तै गरेर धेरै मानिस खाइदिएपछि जनताको रक्षाको लागि एक जना तान्त्रिकको सहायताले देवीलाई शहरभन्दा पर जङ्गल, मसान र नदीको किनार पारी बस्न बाध्य गरी पूजा आजा र बलिदान दिने चलन चलाइएको थियो ।
कसैको मतमा फर्पिङ शहरको वरिपरि अष्टमातृकाका पीठ स्थापित भएका हुन् र तीमध्ये दक्षिणकालीमा दक्षिणकालीकी आमा भनिने माथिको पीठ बैष्णवी पीठ हो ।
माथि चर्चित विवरणहरुबाट दक्षिणकालीको स्थापनाबारे निश्चित कुरा भन्न गाह्रो पर्ने कुरा स्पष्ट बुझिन्छ । नेपाली पुराण, साहित्य ९हिमवत्खण्ड, नेपालमाहात्म्य० मा यसको उल्लेख नपाइनाले यसको स्थापना अलिपछि अथवा मल्लकालमा भएको हो भन्ने अन्दाजी गर्न सकिन्छ । वंशावलीहरुमा दक्षिणकालीको स्थापना राजा प्रताप मल्लले गरेको उल्लेख पाइनाले एक सम्भावनाको रुपमा यो पीठको स्थापनाको श्रेय उनै राजाको कुनै अभिलेख यहाँ पाउन सकिएको छैन र अन्य स्रोत ९ठ्यासफू, टिपोट० आदिमा पनि यस्तो कुनै सन्दर्भ पाइएको छैन । फेरि मल्लकालका राजाहरुमध्ये सबैभन्दा धेरै शिलालेख लेखाएर राख्ने राजाको रुपमा प्रख्यात प्रताप मल्लको अभिलेख यहाँ नपाइनाले प्रश्नचिन्ह उभ्याइदिएको छ ।
राजा प्रताप मल्लले दक्षिणकालीको मूर्ति थापेको माने पनि यहाँ केही ऐतिहासिक समस्या उभिएका पाइन्छन् । दक्षिणकालीस्थानमै देवीको मूर्तिको देब्रेतर्फ रहेका मूर्तिहरूमध्ये नेम्न तीन मूर्तिहरू प्रताप मल्लको समयभन्दा निकै अघिका मान्न सकिने देखिएका छन् –
- शिवपार्वती फलक- ऊक्त ठाउँमा रहेको शिवपार्वतीको मूर्ति बनेको ढुङ्गे फलक कलाको दृष्टिले तेह्राैं-चाैधाैं शताब्दीतिरको मान्नुपर्ने देखिन्छ ।
- उक्त मूर्तिनजीकै गणेशमूर्ति बनेको ढुङ्गे फलक रहेको छ । मुकुट विहीन र हस्तीमुख रूपको गणेशको सो मूर्ति पनि दृष्टिले बाह्राैं शताब्दीतिरको मान्नुपर्ने देखिएको छ ।
- सोही लहरमा घण्टा झुण्ड्याइएको ढुङ्गाको चाैकोसमा अड्याएर गरूडको एउटा मूर्ति रहेको छ। कलाको दृष्टिले यो मूर्ति पनि चाैधाैं-पन्ध्राैं शताब्दीतिर बनेको भन्न सकिने देखिएको छ ।
यी तिन मूर्ति यहाँ रहनाको रहस्य बुझ्न सजिलो छैन । यो स्थलको नजिकै वरिपरि कुनै बस्ती अथवा मन्दिर नभएको हुनाले त्यस्ता ठाउँबाट ल्याई यहाँ राखिएको भन्न गाहारो हुनाले यही ठाउँमा अघि कुनै मन्दिर थियो कि भन्ने प्रश्न उठाउन सकिन्छ । यस्तै प्राचीन मन्दिरमा चामुण्डा अथवा दक्षिणकालीको मूर्ति थापिएको मान्नुपर्ने हुन आउँछ ।